एनिमल एड्भोकेसी एकेडेमी नेपाल - २०२३

यो पेज नेपालमा हुने एकेडेमीको लागि हो। एकेडेमीका कार्यशालाहरु नेपाली भाषामा हुनेछन्।

September 15 - September 30 | workshops will be on Zoom

3:15 pm - 5:15 pm (Nepal Standard Time)

एनिमल एड्भोकेसी एकेडेमी भनेको के हो?

गैर-मानव जनावरहरुको हकमा अझै राम्रो र प्रभावकारी ढंगबाट वकालत गर्नको निम्ति तपाईलाई आवश्यक ज्ञान, सञ्जाल तथा सीप प्रदान गर्न यो ६ वटा भाग भएको पाठ्यक्रम डिजाइन गरिएको हो।

  1. पशु वकालत बारे नेपालको इतिहास र कानुन

    पशु वकालतको क्षेत्रमा नेपालको विकसित इतिहास र हालको कानून बारे जान्नुहोस् र उपलब्ध श्रोत तथा साधनहरुको प्रभावकारी उपयोगिता बारे थाहा पाउनुहोस्।

  2. पशु अभियानमा Intersectional approach

    पशु वकालत लगायतको सामाजिक अभियानमा Intersectional approach को महत्वबारे थाहा पाउनुहोस्।

  3. पशु वकालतमा प्रभावकारी सञ्चार

    पशु वकालतको क्षेत्रमा प्रभावकारी सञ्चारका केही महत्व र यसलाई कसरी अभ्यासमा ल्याउने बारे जानकार हुनुहोस्।

  4. समुदाय निर्माण

    आफूले चाहेको जस्तो समुदाय निर्माण गर्दा आइपर्ने चुनौती र त्यसको सामना गर्ने केही उपाय बारे थाहा पाउनुहोस्।

  5. परियोजना/अभियानको लागि रणनीति

    कुनै पनि परियोजना तथा अभियानलाई अगाडी बढाउँदा त्यसलाई प्रभावकारी बनाउन रणनीति निर्माणको आवश्यकता र कसरी निर्माण गर्ने बारे थाहा पाउनुहोस्।

  6. सिक्ने/सिकाउने, जोडिने र कार्यान्वयन गर्ने

जसले कम्तिमा ६ वटा मध्ये ५ वटा कार्यशालामा उपस्थिती जनाउनु हुन्छ, वहाँहरुले मात्रै ई-प्रमाण पत्र पाउनु हुनेछ।

अतिथि वक्ता

  • अधिवक्ता संजय अधिकारी (he/him)

    अधिवक्ता संजय अधिकारी नेपालको प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण सम्बन्धी मुद्दामा एकदमै सक्रिय रुपमा रहनु भएको सार्वजनिक सरोकारको याचक (Public Interest Litigator) हुनुहुन्छ। काठमाडौँ स्कुल अफ ल मा आवद्ध रही संरक्षण कानुन पढाउनुहुने अधिकारीले स्वयम् आफू निवेदक भएर सार्वजनिक सरोकारको विषयमा दर्ता गर्नु भएको कयौँ मुद्दाहरुले सफलतापूर्वक निकै नै महत्त्वपूर्ण आदेश तथा फैसलाहरु हाँसिल गरेको छ। पशु कल्याणको मुद्दामा सफारीका लागि प्रयोग हुने बन्दी हात्तीहरुलाई नेपालबाट भारत बेचबिखन गर्नबाट रोक्न होस् वा प्रकृति संरक्षणको मुद्दामा जथाभावी लाखौँ रुख कटान गरी निजगढ विमानस्थल बनाउनबाट रोक्न, त्यो सबै निर्णयहरुमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ। उहाँले पशु कल्याण महासंघ सँगको सहकार्यमा पशु कल्याण सम्बन्धी कानुनको छाया ऐन समेत निर्माण गर्नु भएको छ।

  • सृष्टी सिंह श्रेष्ठ (she/her)

    सृष्टि सिंह श्रेष्ठ पशु अधिकारकर्मी तथा वातावरण संरक्षणकर्मी हुनुहुन्छ। श्रेष्ठ हाल एनिमल नेपाल नामक संस्थाको उपाध्यक्ष र जेन गुडल इन्स्टिच्युटको कार्यकारी निर्देशकको रुपमा पनि कार्यरत हुनुहुन्छ जसले क्रमश: पशु कल्याण र वातावरण संरक्षणको लागि कामहरु गरिरहेको छ। यी संस्थाहरुसँगको आफ्नो संलग्नताद्वारा श्रेष्ठले हाम्रो पृथ्वीले आजको दिनमा खेप्नु परेको विभिन्न समस्याहरु बारे बुझेर भावी पुस्ताहरुको लागि हाम्रो प्राकृतिक वातावरणलाई जोगाउन समाधान खोज्ने कार्यमा प्रतिवद्ध हुनुहुन्छ। विगत ११ वर्ष देखि vegan दर्शनलाई पछ्याउँदै अन्यायमा परिरहेको पशुहरुको न्यायको लागि निरन्तर संघर्ष गरिरहनु भएको श्रेष्ठ पशु अधिकार सँगसँगै सिमान्तकृत वर्गका व्यक्तिहरुको सशक्तिकरण र उत्थानमा पनि त्यत्तिकै सक्रिय हुनुहुन्छ।

  • श्री राम तिमिल्सिना (he/him)

    श्री राम तिमिल्सिना एक शिक्षक हुनुहुन्छ। अहिंसात्मक सञ्चार (Nonviolent Communication) को प्रशिक्षकको रुपमा पनि रहनु भएको तिमिल्सिनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विविध खालका दर्शक-श्रोताहरुमाझ १०० भन्दा धेरै वर्कशपहरु संचालन गर्नुका साथै विद्यालय, संस्था तथा समुदायहरुमा २००० भन्दा धेरै तालिमहरुको नेतृत्व गरेर समाजमा राम्रो छबि स्थापना गरिसक्नुभएको छ। अंग्रेजी, राजनीतिक विज्ञान तथा सुचना प्रविधीमा स्नातकोत्तर हाँसिल गर्नु भएको र राष्ट्रिय तथा अन्तराष्ट्रिय शान्ति निर्माण र द्वन्द रुपान्तरणका कोर्षहरुमा प्रमाणपत्र पनि पाउनु भएको तिमिल्सिना emotional intelligence, cognitive behavioral therapy र neuroscience मा पनि पोख्त हुनुहुन्छ। गान्धी शान्ति दुत र विश्वव्यापी शान्ति अभियानका लागि युवा राजदुतको रुपमा आफ्नो भूमिका निर्वाह गर्नुभएको तिमिल्सिनाको काम गर्ने विधिले शैक्षिक क्षेत्रमार्फत सकारात्मक परिवर्तन गर्दै अझै शान्त संसार सिर्जना गर्न सहयोग पुर्याएको छ।

  • कृष्ण बहादुर गुरुङ (he/him)

    पेशाले ग्राफिक डिजाइनर र समाजमा पशु अधिकारकर्मीको परिचय बोक्नु भएको कृष्ण बहादुर गुरुङ हाल नेपाल शाकाहारी संघको अध्यक्ष हुनुहुन्छ। सक्रिय रुपमा पशु अभियानको लागि वकालत गरिरहनु भएको गुरुङ विगत २३ वर्ष देखि विशुद्ध शाकाहारी अर्थात vegan दर्शनलाई पछ्याउँदै जीवन निर्वाह गरिरहनु भएको छ। वि.सं. २०७० सालमा धार्मिक तथा पारम्पारिक पशु बलीलाई निरुत्साहित गराउने जनचेतनामुलक कार्यक्रम अन्तर्गत उहाँले काठमाडौ देखि पोखरा सम्मको साइकल यात्रा पनि गर्नु भएको थियो। सीप र कलामा पनि अब्बल रहनु भएको गुरुङले वि.सं. २०७८ साल मङ्सिर २३ गते डा. त्रिशला गुरुङको आवाजमा आफूले लेखेको गीत "तिम्रो जस्तै.." पनि रिलिज गर्नु भएको थियो जसले प्राणी अहिंसा सम्बन्धी सचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। समाज सेवामा पनि उत्तिकै सक्रिय रहनु भएको गुरुङलाई नेपाल सरकारले वि.सं. २०७३ मा जनसेवाश्री पुरस्कारद्वारा सम्मान पनि गरेको थियो।

  • दिपेश श्रेष्ठ (he/him)

    दिपेश श्रेष्ठ विगत ८ वर्ष देखि पशु अधिकारको क्षेत्रमा क्रियाशील हुनुहुन्छ। विद्यालयहरुमा विद्यार्थीहरुलाई कृषिजन्य पशुको उद्योग र यसले समाज, वातावरण, र स्वास्थ्यमा पार्ने प्रभाव बारे सचेत गराउँदै सुरु भएको श्रेष्ठको यात्रा अहिले पनि निरन्तर अगाडी बढिरहेको छ। श्रेष्ठ हाल अन्तराष्ट्रिय संस्था Save Movement को स्थानीय शाखा, Kathmandu Animal Save मा पनि आवद्ध हुनुहुन्छ जस मार्फत वहाँ vigil आयोजना, समुदाय विकास, पशु शोषणको फुटेज संकलन तथा पशु अधिकार सम्बन्धी पोडकाष्टहरु बनाउने कार्यहरुमा पनि सक्रिय हुनुहुन्छ। Loving Heart Vegan Restaurant मा पनि संलग्न हुनुभएका श्रेष्ठले उक्त रेष्टुरेन्टमा food experimentation का साथै रेष्टुरेन्टको ब्रान्डिङ, विज्ञापन तथा प्रवर्द्धन गर्नुहुन्छ। पशु अधिकारको अभियानमा सक्रिय रहनुभएका श्रेष्ठ सबै प्राणीहरुको लागि करुणामय र दिगो संसार सिर्जना गर्न प्रतिवद्ध हुनुहुन्छ।

किन सहभागी हुने?

पशु अभियानको बारेमा ईच्छुक हुनुहुने र पशु अधिकारको क्षेत्रमा जुन कुनै पनि अवस्था मार्फत गुज्रिरहनुभएको जो कोही पनि व्यक्तिको लागि हुने गरी हाम्रो एकेडेमी निर्माण गरिएको छ।

तपाई अधिकारकर्मी अथवा अभियान्ता हुनुहुन्न भने पनि सहभागिता जनाउन अप्ठ्यारो नमान्नु होला। पशु अधिकार बारे बुझ्नको लागि तपाईलाई यो अत्यन्तै राम्रो अवसर हो!

कति शुल्क लाग्छ?

यसमा निश्चित शुल्क छैन। तपाईले जति सक्नु हुन्छ त्यति नै आफ्नो मनखुशी सहयोग गर्न सक्नुहुन्छ। तपाईको सहयोग ले हामीलाई एशिया भरी रहनु भएका अभियान्ताहरुलाई सशक्त बनाउने सँगै सहायता प्रदान गर्न मद्दत गर्नेछ।

केही जिज्ञासा भए कृपया animalallianceasia.nepal@gmail.com मा ईमेल पठाउनु होला।